महिला क्रिकेट खेलाडीले प्रतिव्यक्ति २ लाख पाउने

Thursday, 02.16.2012, 10:32pm (GMT6.5)

काठमाडौ, फाल्गुन ४  

एसीसी यु १९ महिला क्रिकेट प्रतियोगताका विजयी खेलाडीलाई सरकारले प्रोत्साहन स्वरुप प्रतिव्यक्ति २ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो । यसका साथै प्रशिक्षकलाई पनि २ लाख रुपैयाँ दिने निर्णय भएको छ ।यसैगरी बाग्मती नदी किनारमा बसेका सुकुम्बासीलाई विकल्प खोज्न ३ महिनाको समयावधीसहित प्रतिपरिवार १५ हजार रुपैयाँ दिने निर्णय भएको छ ।भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीका अनुसार कर्मचारी सरुवाका विषयमा देखिएको समस्या समाधान गर्न समान्य प्रशासन मन्त्रालयका सहसचिव तिलकराम शर्माको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय भएको छ । समितिले ५ दिनभित्र प्रतिवेदन पेस गर्ने छ भने मापदण्ड विपरीत भएका सरुवा तत्काल रद्द गरिने निर्णय पनि सरकारले गरेको छ ।माओवादी 'जनसत्ता' ले घरजग्गासम्बन्धी गरेका निर्णयको समस्या समाधान गर्न कांग्रेस, एमाले मधेसी मोर्चा लगायतका पार्टी प्रतिनिधि रहने गरी माओवादी नेता जनार्दन शर्माको संयोजकत्वमा समास्या समाधान समिति गठन गर्ने निर्णय भएको छ । समितिको सुझावका आधारमा अगाडि बढ्ने पनि सरकारले निर्णय गरेको छ ।सरकारले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको कार्यकारी निर्देशकमा गोविन्द पोख्रेललाई नियुक्त गरेको छ । उनी खुला प्रतिस्पर्धाबाट छानिएका हुन् ।यसै गरी दूरसञ्चार प्राधिकरणको रिक्त सदस्य पदमा महेश अधिकारी र अनिल ढुंगेल नियुक्त गर्ने निर्णय पनि भएको छ । फेवातालको जग्गा मिचिएको सम्बन्धमा छानबिन गर्न विश्वप्रकाश लामिछानेको संयोजकत्वमा समिति गठन गरिने भएको छ ।माथिल्लो कर्णाली जल विद्युत् आयोजनालाई आवश्यक पर्ने वन क्षेत्रको जग्गा उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । चितवन तरुणदलका अध्यक्ष शिव पौडेल कारागारमै भएको मृत्यु, छानबिन गर्न गठित समितिको म्याद एक महिना थप गरिएको छ ।सरकारले कावेली जलविद्युत् आयोजनाका लागि विश्व बैंकसँग छलफल गरी अगाडि बढाउन अर्जुन कर्कीको संयोजकत्वमा वार्ता कमिटी गठन गरिएको छ ।सभासद उषा गुरुङको सभापतित्वमा गठित बेरुजु फछ्यौट समितिको म्याद एक वर्ष थप गर्ने निर्णय भएको जानकारी त्रिपाठीले दिए ।प्रशासनिक सेवालाई चुस्त र तन्दुरुस्त पार्न केही जिल्लामा सेवाकेन्द्र थप गर्ने निर्णय भएको छ । जिल्ला प्रशासनको मातहतमा रहने गरी बागलुङको वुर्तिवाङ, ललितपुरको गोटीखेल, महोत्तरीको वर्दिबस र गोर्खामा समेत सेवाकेन्द्रको व्यवस्था गरिने भएको छ ।

bagaicha.com

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.