राजपाले निर्वाचनमा भाग लिने

Thursday, 08.24.2017, 06:25pm (GMT6.5)

८ भाद्र २०७४ 
काठमाडौ
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले करिब दुई बर्ष लामो आन्दोलन अन्त्य गर्दै स्थानीय तथा केन्द्रीय निर्वाचनमा सहभागि हुने औपचारिक निर्णय गरेको छ । संविधान दोस्रो संशोधन विधेयक संसदबाट अस्वीकृत भएपछि काठमाण्डौमा बसेको राजपाको पदाधिकारी र अध्यक्ष मण्डलको बैठकले तेस्रो चरणको स्थानीय तह सहित प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो । बैठकको निर्णय सार्वजनीक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले सरकारी तर्फबाट हुने काम समेत पुष्पकमल दाहाल नेतृत्वको सरकार र वर्तमान सरकारले पुरा गरेकाले चुनावमा जाने परिस्थिति बनेको बताउनुभयो ।  अध्यक्ष मण्डलको बैठकले दुई चरणको स्थानीय तहमा सहभागि नुहँदा राजनीतिक रुपमा आफ्ना माग सम्बोधन गराउन सफल भएको निश्कर्ष निकालेको छ । राजपाले स्थानीय तह निर्वाचनका लागि साईकल चुनाव चिन्ह निर्वाचन आयोगसँग माग गर्ने निर्णय समेत गरेको छ ।  बैठकले संविधान संशोधनको पक्षमा बन्दै गएको वातावरणलाई आफ्नो पक्षमा पार्न नसक्नु सरकारको कमजोरी रहेको ठहर गरेको छ । प्रमुख प्रतिपक्ष एमालेविरुद्व आक्रमक बनेको राजपाले विधेयकको विपक्षमा मतदान गरेर एमालेले नस्लीय चरित्र, साम्प्रदायिक सद्भाव, अहंकारवादी सोच, राष्ट्रिय एकता र मधेश विरोधी चरित्र देखिएको आरोप लगाएको छ ।  त्यस्तै बैठकले तेस्रो चरणको चुनावमा पार्टीको आधिकारिक उम्मेदवार चयन गर्न निर्वाचन हुने आठ वटै जिल्लामा पठाउने केन्द्रीय पर्यवेक्षकको टुङ्गो लगाएको छ ।  यस्तै राजपाले बाढीपीडित क्षेत्रमा न्यायपूर्ण ढंगले राहत वितरण नगरेको दावी गर्दै बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण प्राधिकरण गठनका लागि भोलीदेखि आगामी भदौ २१ गतेसम्म कालो पट्टी बाधेर बिरोध प्रदर्शन जारी राख्ने निर्णय पनि गरेको छ । 

बगैँचा सम्वाददाता

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.