Hot News
हङकङको ताईमोसानमा साकेला सोईढोले सोई, ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने,
Home > News > Political

नेपालको प्रधानमन्त्री के. पि. ओली निर्वाचित तर पाइलै पिच्छे काँडा

Sunday, 10.11.2015, 10:45pm (GMT+6.5)    | Comment | Print | Tell friend

       एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८ औं प्रधानमन्त्री बन्न सफल भएका छनउनले कांग्रेस उम्मेदवार सुशील कोइरालालाई पराजित गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका हुन 

ओली प्रधानमन्त्री निर्वाचित हुँदा उनका पार्टी एमालेका नेता कार्यकर्ता र समर्थन गर्ने दल मात्र होइनन, कांग्रेसकै केही नेता र धेरै नागरिक पनि खुशी छन् । भारतीय हस्तक्षेप बढिरहेको अहिलेको अवस्थामा उसको ‘चाहना अनुसार’ कोइराला आउनुभन्दा उसले नचाहेको ओली आउनु नै ठीक भनेर धेरैले भन्दै आएका थिए । त्यसैले धेरैको भावना अनुसार ओली प्रधानमन्त्री बन्न सफल भएको विश्लेषण गर्न सकिन्छ ।

सिंहदरबार छिर्ने मूल तँगारो पन्छाउन सफल भएपनि ओली हिँड्ने अबको बाटोमा पाइलैपिच्छे कडा चुनौतिहरू छन् । संविधान कार्यान्वयनको लागि मुख्य तीन दल एक ठाउँमा उभिनुपर्ने बेला संविधान निर्माणको सहयात्री दल कांग्रेस प्रतिपक्षमा बस्नु नै ओलीको लागि मुख्य चुनौति हो । उम्मेदवारी दर्ता गर्ने बेला कोइरालाले जसले जितेपनि एकले अर्कालाई समर्थन र सहयोग गर्ने प्रतिबद्धता जनाए तापनि व्यवहारमा त्यो देखाउन सजिलो छैन । सहयात्री अन्न दललाई समेत विश्वासमा लिएर संविधान कार्यान्वयन गर्ने मुख्य कामभन्दा पहिले यतिखेर देशका जल्दाबल्दा समस्या हल गर्नुपर्ने खाँचो छ । मधेस केन्द्रित दलको आन्दोलन र भारतको अघोषित नाकाबन्दीले आम नागरिकले सास्ती खेप्नु परेको अवस्था छ ।

दैलोमै आइपुगेको दसैं कसरी मान्ने अझै भर छैन । घर गाउँ छोडेर काठमाडौं लगायतका शहरमा बस्नेलाई यसवर्ष दसैंमा परिवारसँग बसेर टीका लगाउन पाइएला कि नपाइएला भन्ने चिन्ता छ । इन्धन नभएकाले धेरै गाडी थन्केर बसेका छन् । अलि अलि चलेका गाडीमा चढिसक्ने अवस्था छैन । आयल निगमले दसैंको लागि इन्धन साँचेर त राखेको छ । तर दसैंमा एकैपटक धेरै गाडी गुड्ने भएकाले साँचेर राखेको इन्धन हात्तीको मुखमा जिरा सरह मात्र हुनेछ ।

त्यसैले आम नागरिकलाई सहज रुपमा दसैं मनाइदिने वातावरण बनाउन सक्नु ओलीको पहिलो चुनौति हो । इन्धन लगायतका अत्यावश्यक वस्तुको सहज आपूर्ति भएर सजिलैसँग गाडीमा ओहोरदोहोर गर्न पाइयो भने मात्र सबैले रमाइलोसँग दसैं मान्न पाउँछन् । मधेसी मोर्चाको आन्दोलन र भारतको अघोषित नाकाबन्दी फिर्ता भएको अवस्थामा मात्र आयात सहज हुन्छ । भारत यसैपनि ओलीको पक्षमा छैन । यसअघिका कतिपय अभिव्यक्ति र व्यवहारका कारण मधेसी दल पनि ओलीसँग सन्तुष्ट छैनन् ।

राष्ट्रियताको पक्षमा अडान लिएको भन्दै धेरै नागरिकको मन जित्न सफल ओलीले मधेसी मोर्चालाई विश्वासमा लिन सक्नुपर्छ । मधेसी मोर्चा सकारात्मक भए भने तराईमा भैरहेको आन्दोलन फिर्ता हुन्छ । मधेसी मोर्चाको आन्दोलन फिर्ता भएपछि भारत पनि नाकाबन्दी हटाउन बाध्य हुन्छ ।  त्यसो त ओली प्रधानमन्त्री हुने बित्तिकै नाकाबन्दी खुलिहाल्यो भनेपनि आपूर्ति र वितरण तत्काल सहज हुन सक्दैन । तैपनि नागरिकमा केही होला भन्ने आशा जाग्न सक्छ ।

आम नागरिकका लागि दशैं सोचेजस्तो खल्लो भएन भने मात्र पनि ओलीको लागि यो पहिलो सफलता हुन सक्छ । भूकम्पपछि घर न घाटको अवस्थामा रहेका नागरिकलाई राहत दिएर पुनर्निर्माणको काम थाल्नु अर्को चुनौति हो । त्यसपछि आफूलाई समर्थन गर्ने र नगर्ने दलहरुलाई विश्वासमा लिएर संविधान कार्यान्वयन गर्नु ओलीको मुख्य चुनौति हुनेछ । कांग्रेस, एमाले र एकीकृत माओवादी एक ठाउँमा उभिएकै कारण संविधान निर्माण सहज भयो । संविधान कार्यान्वयनको लागि पनि फेरि तीन दल मिलेर अघि बढ्नुको विकल्प छैन । मुख्य तीन दल नै सरकारमा सहभागी होउन् भन्ने धेरैको अपेक्षा थियो ।

दलहरुबीच पहिले भएको सहमति पनि यही हो । तर परिस्थितिले उनीहरु सत्तापक्ष र प्रतिपक्षमा बाँडिएका छन् । स्वभाविक छ कि सत्तापक्ष र प्रतिपक्षमा बाँडिदा संविधान कार्यान्वयनको बाटो त्यति सहज छैन । त्यसमाथि एकीकृत माओवादीले ओलीलाई सशर्त समर्थन गरेको हो । सँगै रहेका राप्रपा नेपाल लगायतका अरु दलका मुद्दा र अडानले पनि ओलीलाई काम गर्न अप्ठेरो हुने देखिन्छ । एकातिर सँगै रहेका दलको विश्वास कायमै राख्नु, अर्कोतर्फ आफ्नो पक्षमा नभएका कांग्रेस र मधेसी मोर्चाको विश्वास जित्न सक्नु ओलीका लागि मुख्य चुनौति हुन् ।

‘संविधान निर्माण र राष्ट्रियताको पक्षमा देखाएको अडान’का कारण पहिलेका बिरोधी पनि अहिले ओलीका समर्थक भएका छन् । एकीकृत माओवादी, राप्रपा नेपाल मात्र होइन कांग्रसकै कतिपय नेताहरु पनि ओलीको पक्षमा छन् । भारतले नचाहेपनि ओली नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने नागरिकको संख्या धेरै छ । यसकारण ओलीबाट धेरैले धेरै अपेक्षा गरेका छन् ।

ओलीलाई एकपटक हेरौं न त भनेर धेरैजना उहाँको पक्षमा देखिएका होइनन् । आफ्नो अडानबाट पछि नहट्ने हठी स्वभावका ओलीले केही गर्छन् भन्ने धेरैको विश्वास छ । तर राजनीतिमा कहिलेकाहीँ यस्तो स्वभावले मात्र काम गर्दैन । कुनै ठाउँमा लचिलो हुन पनि सक्नुपर्छ । जता फर्केपनि चुनौति नै चुनौतिको बाटोमा पाइला राखेर अग्निपरीक्षामा होमिएका ओली आम नागरिकबाट गरेको अपेक्षा पूरा गर्न कतिको सफल हुन्छन्, हेर्न बाँकी छ ।  




Hot News

 

SEARCH

Newsletter

Top