भावि प्रधानमन्त्रीको लागि कोइराला र ओली मैदानमा

Sunday, 10.11.2015, 12:11pm (GMT6.5)


काठमाडौं, असोज २४ – संविधान कार्यान्वयनको लागि एक ठाउँमा उभिने प्रतिबद्धता जनाउँदै आएका मुख्य तीन दल दुई ध्रुवमा बाँडिन पुगेका छन् । पहिले भएको भनिएको भद्र सहमति विपरीत कांग्रेस सभापति सुशील कोइरालाले उम्मेदवारी दिएपछि दलहरु प्रष्टसँग दुई कित्तामा बाँडिएका हुन । कोइरालालाई प्रधानमन्त्री बनाउने पार्टी निर्णयप्रति कांग्रेसकै कतिपय नेता असहम छन् भने एमालेलाई समर्थन गर्ने पार्टीको कदमलाई लिएर एमाओवादीभित्र पनि विवाद छ । 

कोइरालालाई मधेसवादी र अरू केही साना दलका तर्फबाट समर्थन प्राप्त हुने कांग्रेसको अपेक्षा छ भने एमाले अध्यक्ष ओलीलाई संसदमा रहेका तीस दलमध्ये १७ दल र एक स्वतन्त्र सांसदले समर्थन गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने पहिलो र दोस्रो दलका प्रमुख नेताहरूबीच हुन लागेको प्रधानमन्त्रीको चयन प्रक्रियामा एमाले उम्मेदवार ओलीसँग उहाँकै दलका १ सय ८३ र कांग्रेस सभापति कोइरालासँग भने उहाँको दलका २ सय ७ सांसद छन् । ओलीलाई ८३ सांसद रहेको एमाओवादी र २५ सांसद रहेको राप्रपा नेपालले पनि समर्थन जनाएको छ । संसदमा अहिले कायम रहेको ५ सय ९८ सांसदमध्ये प्रधामन्त्री बन्नका लागि चाहिने २ सय ९९ मत मध्ये एमाले, एमाओवादी र राप्रपा नेपालको जोड्दा नै एमालेको पक्षमा दुई सय ९१ मत पुग्छ ।

यस्तै एमाले अध्यक्ष ओलीलाई १२ सांसद रहेको राप्रपा, ५ सांसद रहेको माले र अरु साना दलका २५ सांसदले पनि समर्थन जनाएका छन् । यस हिसाबले प्रधानमन्त्री बन्न चाहिने २ सय ९९ भन्दा धेरै मत ओलीको पक्षमा छ ।

कांग्रेसलाई अहिलेसम्म कसैले औपचारिक समर्थन नगरेपनि मधेसी दल र एमाओवादीकै केही सांसदले समर्थन गर्ने कांग्रेसका नेताहरुले हिसाब लगाएका छन् । एमालेले जस्तै कांग्रेसले पनि आफ्नो पक्षमा बहुमत पुग्ने दाबी गरेको छ। चुनावी प्रक्रिया सुरु हुनुअघिसम्म नै मत प्रभावित हुन सक्ने भएकाले आफूहरु चनाखो रहेको एमाले नेताहरुले बताएका छन् ।



© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.