Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > Political

लिम्बुवान स्वायत्तता प्राप्तिका लागि बहस सम्पन्न

Tuesday, 08.11.2015, 11:50am (GMT+6.5)    | Comment | Print | Tell friend

ललितपुर, साउन २३ 
लिम्बुवान लगायतका पहिचानमा आधारित संघीय–स्वायत्त राज्यहरू सुनिश्चित नगर्ने षडयन्त्र भइरहेको बेला लिम्बुवान अध्ययन केन्द्रले ‘‘लिम्बुवान : हिजो, आज र भोलि’’ बहस शृङ्खलाअन्तर्गत ‘‘लिम्बुवान स्वायत्तताको प्राप्तिको जुक्ति’’ बारे विज्ञ अभियन्ताहरूसँग अन्तरक्रियात्मक बहस कार्यक्रम सम्पन्न गरेको छ ।

लिम्बुवान : हिजो, आज र भोलि बहस शृङ्खलाको दोस्रो कार्यक्रमको रूपमा सम्पन्न उक्त कार्यक्रममा पहिचान पक्षधर विज्ञ–अभियन्ताहरू बैरागी काइँला, खगेन्द्र संग्रौला, युग पाठक र अनुभव अजितले आ–आफ्नो धारणा राख्नुभएको थियो । लिम्बुवान अधययन केन्द्रका सदस्य खगेन्द्र जबेगुद्वारा सञ्चालित उक्त कार्यक्रमलाई केन्द्रकै सदस्य तथा त्रि.वि. मानवशास्त्र विभागका अध्यापक डम्बर चेम्जोङले सहजीकरण गरेका थिए ।

बहस कार्यक्रमको विषयमा आफ्नो धारणा राख्ने क्रममा पहिचानवादी बौद्धिक अभियन्ता युग पाठकले मुलुकमा रहेको विद्यमान राजनीतिक समस्याको मूल कारण शासकहरूमा रहेको पुरानो महेन्द्रीय राष्ट्रवादी–पञ्चायती सोच भएको औंलाउनु भयो । पुरानै चेतनामा रहेका एकजातिवादी शासकहरूले राष्ट्रवाद र राष्ट्रियता यहाँका विभिन्न जातजातिका नेपाली जनताहरूमा नदेखी केवल हिमाल, पहाड, तराई, नदीनाला र पशुपंक्षीहरूमा मात्र देख्नु मूल समस्याको जड भएको बताए । पाठकले थप भने, त्यसैले यहाँका पुराना मानसिकता र चेतनाका शासक र सम्बद्ध जातहरू यहाँका तमाम् नेपाली जाति–जनताहरूको भन्दा यहाँको हिमाल, पहाड, तराई, नदीनाला, डाँडाकाँडा, फूल र पशुपंक्षीको मात्र गुणगान गाएर र तिनीहरूप्रतिमात्र भक्तिभाव दर्शाउँदै यहाँका बहुसङ्ख्यक आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित र महिला लगायतलाई जहिल्यै ओझेलमा पारी शोषण र दमन गर्ने नीतिमात्र लिइरहेका छन् । यसका विरूद्धमा समय र परिस्थिति अनुकूल सबै जातजातिका जनताहरूको हितानुकूल हुने नयाँ सोच र राष्ट्रवाद तथा राष्ट्रियताको पक्षमा विभिन्न अभियान र आन्दोलनहरू छेड्नु पर्ने बताउनु भयो । वहाँले यो यहाँका बहुसङ्ख्यक आदिवासी जनजाति तथा मधेशी, मुस्लिम, दलित र महिलाहरूले चलाइरहेको पहिचानमा आधारित बहुल राष्ट्रवादमा मात्र सम्भव हुने सुझाउनु भयो । साथै, हामीले सही तार्किक आधारमा बुझाउन कोसिस गरे यो यथार्थ कुराहरूलाई खसआर्य समुदायका नयाँ पुस्ताले पनि बुझेर यो अभियानमा आउने बताउनु भयो ।

बसहकै क्रममा मधेशी अभियन्ता अनुभव अजितले सबै पहाडियाहरूले मधेशीहरूप्रति हेर्ने दृष्टिकोण र गर्ने व्यवहारलाई सच्याउन आग्रह गर्दै अब मधेश स्वायत्तताको नाराले मात्र यसको सुनिश्चितता नहुने भएकोले नयाँ पुस्ताका मधेशी आभियन्ता तथा आन्दोललकारीहरू मधेश स्वतन्त्रताको पक्षमा समेत उभिनु पर्ने बाध्यात्मक परिस्थिति आउँदै गरेको बताउनु भयो । अजितले, पुराना एकजातवादी शासकहरूसँग उत्पीडित आदिवासी जनजाति तथा मधेशीहरूले अधिकार लिनका लागि एक भएर सङ्घर्ष गर्नुपर्नेमा जोड दिँदै आफूहरूबीचमा रहेको प्रदेश सिमाङ्कनका समस्याहरू पनि आपसमा आफैले हल गर्न सकिनेसमेत सुझाउनु भयो ।

बहसमा उत्पीडित जाति तथा जनताका पक्षमा कलम र बचनवाण चलाउने लेखक अभियन्ता खगेन्द्र संग्रौलाले लिम्बुजाति र लिम्बुवानसँगको आफ्नो विगतको सम्झना र प्रेरणा सम्झाउँदै राज्यको एकल भाषिक नीतिकै कारण यहाँका अधिकांश खस नेपाली भाषाइतरका जनसमुदायहरू राज्य संयन्त्रको पहुँचमा आउनु नसकेको यथार्थ उजार गर्नुभयो । वहाँले हजारौं जनताको वलिदानबाट आएका तथा बहुसङ्ख्यक उत्पीडित जनताहरूको मुक्तिका लागि आस गरिएका एमाओवादी र तिनका नेतृत्वहरू क्रमशः तिनै पुराना सोचका शासकहरूको षडयन्त्रमा फस्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । पहिलो संविधान सभाको षडयन्त्रमुलक विघटन, खिलराज सरकारको गठन, धाँधलीपूर्ण दोस्रो संविधान सभाको निर्वाचन र १६ बुँदे षडयन्त्रकारी सहमतिसम्म आईपुग्दा पुराका एकात्मकवादी शासकहरूले तमाम उत्पीडित तथा पहिचान पक्षधर जनताहरूको मुक्तिको मुद्दालाई नै सखाप पारेको बताउनु भयो । संग्रौलाले अहिले आएर एमाओवादीका नेता प्रचण्ड लगायतले उत्पीडित समुदायको पहिचानको मुद्दालाई छोडेर पुराना सोचका एकात्मकवादी शासहरूसंग लम्पसार परेको बेला यो पहिचानको आन्दोलनलाई नेतृत्व गर्ने सही नेताहरूको अभाव रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । तर, जे भए पनि नसुतिकन ब्यूँझेरै निरन्तर सङ्घर्ष र आन्दोलनमा लागिरहे उत्पीडित जाति तथा जनताहरूको अधिकार सुनिश्चित भएरै छाड्ने बताउनु भयो ।

बहसमा आफ्नो धारणा राख्दै बैरागी काइँलाले उत्पीडित जातजातिहरूको एकता र आपसी सद्भावले नै पहिचानमा आधारित संघीयता तथा लिम्बुवान लगायतका स्वायत्त राज्यहरूको सुनिश्चितता हुने बताउनु भयो । नेपालको इतिहासमा जति पनि आफ्नो अधिकार गुमाउने र शासकहरूसँग हार्ने घट्नाहरू आपसी एकता र सद्भावकै अभावले भएको औंल्याउनु भयो । अरू त के, तत्कालीन अवस्थामा काठमाडौं उत्पयकाका एकै दाजुभाइ मल्ल शासकहरूले नै उत्पयकालाई काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन राज्यमा विभाजित गरेर नरहेको भए गोरखाका राजा पृथ्वी नारायण शाहले नेपाल खाल्डोलाई आफ्नो कब्जामा लिन सक्दैन थिए । लिम्बुवान लगायत अन्य राज्यहरू पनि यसरी नै एकता र सद्भावमा नरही टुटफुटको अवस्थामै रहेको कारणले त्यसैमा षडयन्त्रमुलक ढङ्गले खेलबाड गरी ऐतिहासिक राज्यहरू गुमाउनु परेको तीतो यथार्थ वहाँले उजागर गर्नुभयो । साथै, लिम्बुवान स्वायत्तता प्राप्त गर्नका लागि लिम्बुवान एकताको अभियानलाई अझ मजवुत, संस्थागत र सशक्त पार्दै लिम्बुवानका तमाम् आदिवासी जनजाति, मधेशी तथा खसआर्य र दलितहरूलाई समेत एकतावद्ध गराई आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने सुझाउनु भयो ।

कार्यक्रममा सहभागीहरूको तर्फबाट संघीय लिम्बुवान पार्टी नेपालका विष्णु यक्सो, दीपा लिम्बु र दुर्गा ओख्राबोले प्रस्तोताहरूसमक्ष विभिन्न जिज्ञासाहरू राखेको थिए । सहभागी लिम्बुवानी बौद्धिक तुम्याहाङ नेत्र तुम्बाहाङ्फे, बालकृष्ण माबुहाङ, खगेन्द्र जबेगु र अमर नेम्बाङले प्रस्तोताहरूसमक्ष विभिन्न प्रश्नहरू राख्नु थयो । यसरी नै चुम्लुङका उपाध्यक्ष लीला सिङ्गक, अभियन्ता टंक माबुहाङ र अशोक राई लगायतले पनि आफ्ना सवालहरू राखेको थिए ।

कार्यक्रमका सहजकर्ता डम्बर चेम्जोङबाट पनि सहजीकरणकै क्रम्मा थप बहसका विषयहरू उजागर गरिएको थियो ।

अन्तमा, किरात याक्थुङ चुम्लुङ लिम्बुवान अध्ययन केन्द्रका अध्यक्ष अर्जुन लिम्बुबाट कार्यक्रमको औचित्य र सार्थकताबारे प्रस्ट्याउँदै अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा सहभागी सबैलाई हार्दिक कृतज्ञता ज्ञापन गरेर कार्यक्रम सम्पन्न भयो ।


कल्पना तुम्रोक

Hot News

 

SEARCH

Newsletter

Top