संविधान निर्माण सम्बन्धी प्रमुख चार दलबीच भयो राति १६ बुँदे सहमति

Tuesday, 06.09.2015, 12:32pm (GMT6.5)

काठमाडौं, २६ जेष्ठ ०७२

लामो गतिरोध तोड्दै संविधानका विवादित विषयमा प्रमुख चार दलबीच सोमबार राति १६ बुँदे सहमति भएको छ । संघीयता र प्रदेश रचना, संसद र निर्वाचन प्रणाली तथा शासकीय स्वरूप जस्ता विषयमा सहमति भएको छ। सहमतिमा प्रमुख चार दलका प्रमुखले हस्ताक्षर गरेका छन् । मुख्यत संघीयताका विषयमा दलहरुबीच बिहानै सहमति भएपछि राति अबेर सबै विवादित विषयमा दलहरुमा सहमति भएको थियो। सहमतिपत्रमा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले हस्ताक्षर गरेका छन् ।प्रमुख दलबीच पहिचान चार र सामार्थ्यका चार आधारमा ८ प्रदेश बनाउने सहमति भएको छ । प्रदेशको नामांकन प्रदेश सभाको दुई तिहाई बहुमतबाट टुंगो लगाउने र सिमांकनका लागि एक संघीय आयोग बनाउने सहमति दलहरुबीच भएको छ ।प्रमुख दलहरुबीच संसदीय व्यवस्थासहितको शासकीय स्वरुप अपनाउने सहमति भएको छ । संघीय ससद प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी दुई सदनात्मक हुनेछ भने प्रादेशिक सभा एक सदनात्मक हुनेछ । प्रतिनिधिसभाको निर्वाचन मिश्रित निर्वाचन प्रणालीबाट गर्ने सहमति भएको छ । ‘प्रतिनिधिसभामा कूल २ सय ७५ सदस्य रहनेछन् । भूगोल र जनसंख्याको आधारमा देशमा कूल १ सय ६५ संसदीय निर्वाचन क्षेत्र हुनेछन् ।  यी निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत बहुमत प्राप्त गर्ने १ सय ६५ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन् । बाँकी १ सय १० सदस्य समानुपातिक निर्वाचन प्रणालीद्वारा निर्वाचित हुनेछन्,’ सहमतिपत्रमा भनिएको छ, ‘राष्ट्रिय सभाको सदस्य संख्या कूल ४५ कायम हुनेछ । यस मध्ये प्रत्येक प्रदेशबाट समान संख्याका आधारमा ४० सदस्य निर्वाचित हुनेछन् ।  र बाँकी ५ सदस्य संघीय मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् ।

संविधान निर्माण सम्बन्धी प्रमुख चार दल बीच भएको सहमतिको पुर्ण पाठ

नितेश सुनुवार

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.