पार्टी एकताका लागि माओवादीका युवा नेता अभियान

Monday, 03.16.2015, 10:20pm (GMT6.5)

काठमाडौँ, २ चैत ०७१

शान्ति प्रक्रिया प्रवेश गरेपछि माओवादी आन्दोलन खण्डित भएको भन्दै पार्टी एकताका लागि युवा नेताले अभियान सुरु गरेका छन् । माओवादी आन्दोलन पुनःगठन अभियानले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी एकता प्रक्रिया सुरु भएको घोषणा गरिएको छ । उनीहरूले पार्टी एकता आजको आवश्यकता भएको ठहर गर्दै त्यसका लागि सबैले आआफ्नो स्वार्थ र अहमलाई त्याग गर्नुपर्नेमा जोड दिएका थिए ।जनयुद्ध, जनआन्दोलनलगायतका विभिन्न आन्दोलनबाट प्राप्त भएको उपलब्धी धरापमा परेको उल्लेख गर्दै उनीहरूले पछिल्लो दिनमा सत्तारुढ दलको व्यवहारका कारण पनि मजबूत एकता आवश्यक भएको बताए ।शीर्ष नेतृत्वलाई एकताका लागि दबाब दिने र सकारात्मक वातावरण तयार पार्ने उद्देश्यका साथ अभियान सुरु गरिएको एमाओवादीका स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए।माओवादी टुट फुटले देश, जनता कोही कसैको हित गरेन, त्यसकारण एकताका लागि आफूहरू केन्द्रीत भएको नेता शर्माको भनाइ छ । कार्यक्रममा माओवादीका नेता हितमान शाक्यले पार्टी एकताको आवश्यकता किन पर्‍यो भन्ने विषयमा प्रतिवद्धतापत्र बाँचन गरेर सुनाएका थिए।विगतका आन्दोलन तथा सङ्घर्षबाट प्राप्त भएका राजनीतिक, सामाजिक उपलब्धीहरू क्रमशः खण्डित हुँदै गएकाले सबै माओवादी एकठाँउमा आउनुपर्छ र हुनुपर्छ भन्ने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा(माओवादी)का नेता धर्मेन्द्र बाँस्तोलाले पाँच टुक्रामा विभक्त भएको माओवादी मिल्नुको विकल्प नभएको बताए। सबैले राजनीतिक कार्यदिशा एउटै बनाएर एकताको लागि पहल गर्नुपर्ने उनको भनाइ थियो । नेकपा(माओवादी)का अध्यक्ष मातृका यादवले वास्तवमै पार्टी एकता गर्ने हो भने आग्रह पूर्वाग्रहबाट माथि उठेर अगाडि बढ्नुपर्नेमा जोड दिए। क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले जनताको नाममा राजनीति गर्ने माओवादी किन बिग्रिएको भनेर समिक्षा गर्नुपर्नेमा जोड दिउका थिए।


रासस

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.