Hot News
हङकङको ताईमोसानमा साकेला सोईढोले सोई, ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने,
Home > News > Political

३० दलीय गठबन्धनको आमसभा बानेश्वरमा झडप र शिर्षनेताहरूको चेतावनी

Saturday, 02.28.2015, 08:38pm (GMT+6.5)    | Comment | Print | Tell friend

 काठमाडौं, १६ फागुन ०७१

३० दलीय गठबन्धनले आज शनिबार काठमाडौंको खुलामञ्चमा आम सभा गरेको छ ।काठमाडौका विभिन्न स्थानबाट निस्किएको जुलुस खुलामञ्चमा पुगेको थियो ।तीनकुनेबाट गएको जुलुस भने बानेश्वरमा पुगेर झडप भएको थियो । बानेश्वरमा भएको झडपमा सुरक्षाकर्मीले २१ सेल अश्रुग्यास प्रयोग गरेको थियो । यस झडपबारे गृहमन्त्रालयले एक विज्ञप्ति समेत जारी गरेको छ । आम सभामा भने ३० शिर्ष नेताहरूले सम्बोधन गरेका छ्न् ।सम्बोधनका क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बहुमतीय प्रक्रियाबाट संविधान बनाउने गल्ती नसच्चिए सम्झौताविहीन आन्दोलन गर्ने चेतावनी दिएका छन् । दहालले भने 'संविधानसभाभित्र रहेका र बाहिर रहेकालाई पनि सहमतिमा ल्याउन तयार हुनुहोस्, अझै पनि बल तपाईंहरुको कोर्टमा छ,' दाहालले सत्तारुढ कांग्रेस-एमालेलाई चेतावनी दिए, 'यदि तपाईंहरुले गल्ती सच्याउनुभएन भने धेरै ढिलो भइसक्छ, अबको आन्दोलन घोषणा भएपछि तपाईंहरुसँग सम्झौताको ठाउँ रहँदैन ।' दाहालले सहमति र वार्ता विपक्षीले नभई सत्तापक्षले तोडेको उल्लेख गर्दै समय छँदै गल्ती सच्याउन आग्रह गरे । 'समय छँदै बहुमत प्रक्रिया खारेज गर्नुस्, रोक्नुस्, संवाद समितिबाटै हल गर्नुस्, वार्ता सजिलै सुरु हुन सक्छ,' उनको भनाइ थियो, 'गल्ती सच्याउनु हुन्न, करेक्सन नगर्ने हो भने परिणाम भोग्न तयार हुनुस् ।'संविधानसभा गणितको खेल नभएको उल्लेख गर्दै उनले क्रान्तिलाई गणितमा बदलिए विष्फोट हुने चेतावनी दिए । दाहालले अब हुने आन्दोलन विद्रोहमा परिणत हुने चेतावनी दिए । 'विद्रोहको सभा कांग्रेस एमालेले कुनै हालतमा रोक्न सक्ने छैनन्,' उनले भने ।यस्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले पार्टीको औचित्य सकिएको टिप्पणी गरेका छन् । कांग्रेसको एजेन्डामा समाहित भएपछि एमालेको औचित्य नभएको बताए ।एमालेले पार्टी घोषणापत्रविपरीत कांग्रेस एजेन्डामा समाहित भएकाले अब उक्त पार्टीको आवश्यकता नभएको बताए । 'पार्टी भनेको राजनीतिक विचार हुन्छ, एमाले चुनावभन्दा अगाडि अलग्गै हो कि भन्ने थियो,' उनले भने, 'अब रहेन, कांग्रेसमा घुसे हुन्छ ।'यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारुढ कांग्रेस-एमालेलाई 'कलर ब्लाइन्ड'को संज्ञा दिएका छन् ।सभालाई सम्बोधन गर्दै भट्टराईले 'कलर ब्लाइन्ड'को उपचार गर्न ढिला भएको बताए । 'अहिले केही कलर ब्लाइन्ड छन् । रंगको पहिचान जान्दैछन् । रंग नदेख्नेहरुले इन्द्रधनुषको एउटा कलरमात्र देख्छन्,' उनले भने, 'यिनीहरुको उपचार गर्नुपरेको छ ।'भट्टराईले माघ ११ गते प्रक्रियामा लगेसँगै संविधानसभा अपहरण भएको भन्दै त्यसलाई आन्दोलनबाटै फिर्ता गर्नुपर्ने आवश्यकता औंल्याए । उनले सत्तारुढ दलले ०४७ सालको संविधान फिर्ता ल्याउने प्रयास गरेपछि राजनीतिक आन्दोलन नटुंगिएको बताए । 'आजको सभा त ट्रेलरमात्रै हो,' उनले भने, 'साँच्चिकै फिल्म आएपछि तपाईंहरु कहाँ हुनुहुन्छ थाहा छैन ।' उनले आफूहरु विगतका सहमति र सम्झौता पालना गर्दै नयाँ संविधान जारी गर्नुपर्ने पक्षमा रहेको दोहोर्‍याए । 'तर, त्यसो हुँदैन भने जागिसकेका नेपाली जनतालाई धोका दिंदैनौं,' उनले भने ।यस्तै मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारको मधेसी दलका नेताहरुले विगतमा भएका सम्झौताहरु कार्यान्वयन वातावरण नबनेसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।१२ बुँदे सम्झौतादेखि मधेस अन्दोलन र अन्य अन्दोलनहरुपछि भएका सहमति/सम्झौता कार्यान्वयन वार्ताको सर्त हुने बताए ।उनले माओवादी, मधेस, थारु, आदिवासी आन्दोलनलाई उपेक्षा नगर्न आग्रह गर्दै उनले विगतमा भएका सहमति सम्झौताका आधारमा संविधानसभामा आउन कांग्रेस एमालेलाई आग्रह गरे ।तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयश त्रिपाठीले कांग्रेस-एमाले विगतमा भएका सहमति कार्यान्वयन गर्छु भनेर नआएसम्म वार्ताको कुनै अर्थ नरहेको बताए । 'अब आन्दोलन निर्विकल्प छ,' उनले भने- 'आन्दोलनबाटै सबथोक लिनेछौं ।' उनले कांग्रेस-एमालले ०४७ सालमा संविधान बनाएकाले अहिले माओवादी, मधेसी, महिला, जनजाति,दलित, आदिवासीको संविधान बनाउने पालो भएको बताए । उनले कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली परिवर्तन बिरोधी रहेको आरोप लगाए ।'दुवै जना ०६२/०६३ को आन्दोलनका बिरोधी थिए,' उनले भने-'उनीहरुले जे गर्दैछन् । त्यो अनौठो मान्नुपर्ने केही होइन ।' ओलीप्रति लक्षित गर्दै उनले सभामा आएका मधेसी जनता यूपी र बिहारबाट नआएको बताए ।सभामा सदभावना अध्यक्ष राजेन्द्र महतोले वार्ताको कुरा २/४ दिन भित्र हुने भए गरौं नभए होली पछि उठ्ने आन्दोलनले अधिकार सहितको संविधान लिएर मात्रै विश्राम लिने चेतावनी दिए । उनले कांग्रेस-एमालेले झूठको खेती गरिरहेको आरोप लगाए । 'उनीहरुले नेपाली जनतालाई एकथान संविधान चाहियो भन्दैछन् । संविधान त थियो, छँदैछ,' उनले भने-'परिवर्तन, अधिकार, पहिचान र संघीयतासहितको संविधान जनताले खोजेका छन् ।' उनले दुई तिहाईको बलमा उनीहरुले विगतको सहमति/सम्झौता विर्सिन खोजेको आरोप लगाए । सम्झौता कार्यान्वयनका लागि जनताले उनीहरुलाई मत दिएको उनको कथन थियो ।'मधेस प्रदेश दिन्छु भनेका थिए । अहिले मधेस देउ भन्दा यूपी र बिहार देखाउँछन्,' उनले भने, 'उनीहरु बहुमतको अहंकारमा जनतालाई अपमानित गरेर राष्ट्रघाती काम गर्दैछन् ।' उनले सेवा केन्द्रको नाममा जनतालाई भिडाउने काम सरकारले गरिरहेको आरोप लगाए ।

 


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top