संविधान समयमै नबने अतिवाद हाबी हुने कांग्रेस नेताहरूको चेतावनी
Thursday, 03.04.2010, 11:02pm (GMT+5.5)काठमाडौं । नेपाली कांग्रेसको एक पक्षले नयाँ संविधान समयमै नबने शान्ति प्रक्रिया टुंगोमा नपुग्ने र दलहरूको औचित्य समाप्त हुने चेतावनी दिएको छ । महामन्त्री कुलबहादुर गुरुङसहितको टोलीले विभिन्न जिल्ला भ्रमणपछि ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरी यस्तो धारणा सार्वजनिक गरेको हो । समयमै संविधान नबने दलहरूलाई अतिवादीले विस्थापित गर्ने उनीहरूको ठम्याइ छ । शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउनका लागि जेठ १४ गते नै संविधान जारी गर्नुपर्ने, लडाकू व्यवस्थापन गर्नुपर्ने, विस्थापितलाई घर फर्काउनुपर्ने र कब्जा सम्पत्ति फिर्ता हुनुपर्ने ठहरसमेत गरिएको नेता गोविन्दराज जोशीले जानकारी गराए । पार्टीको महासमिति बैठक सकेलगत्तै जिल्ला भ्रमणमा निस्केका महामन्त्री गुरुङसहित केन्द्रीय सदस्यहरू गोविन्दराज जोशी, विनयध्वज चन्द र सुनीलकुमार भण्डारी पत्रकार सम्मेलनमा उपस्थित थिए । टोलीले माघ १३ देखि फागुन १५ गतेसम्म दुई चरणमा तराईका २० भन्दा बढी जिल्ला भ्रमण गरेको थियो । टोलीले संविधान जारी गर्नुअगावै पार्टीको महाधिवेशन गर्न नेतृत्वलाई सुझाव दिएको छ । पार्टी सामूहिक नेतृत्व गएमात्रै कार्यकर्ताको भावनाको प्रतिनिधित्व हुने बताइएको छ । उनीहरूले सरकारमा सहभागी मन्त्रीको कार्यशैलीप्रति पनि आपत्ति जनाएका छन् ।





Comments (0)
Print
Tell friend
Top
