मन्त्रिपरिषद् विस्तार आचारसंहिता विरुद्ध: आयोग, 'अझै धेरैलाई मन्त्री पुगेको छैन’ : प्रम देउवा

Tuesday, 09.12.2017, 01:41pm (GMT6.5)

२७ भदौ २०७४

काठमाडौ

निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तार आचारसंहिता विरुद्ध भएको बताएको छ । तीन  मन्त्री र एक राज्यमन्त्रीको सपथ सकिए लगत्तै एक विज्ञप्ति जारी गरी आयोगले मन्त्रीपरिषद् विस्तारले निर्वाचन आचार संहिता उल्लंघन भएको जनाएको हो । मन्त्रीपरिषद् विस्तारको कार्यले स्वच्छ,स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पार्न सक्ने भन्दै यस किसिमको कार्य नगर्न आयोगले सरकारको ध्यानाकर्षण गरेको छ । यसैबीच आयोगले निर्वाचन सुरक्षाका विषयमा सुरक्षा निकायका प्रतिनिधिसँग समेत छलफल गरेको छ ।

निर्वाचन आयोगले मन्त्रिमण्डल विस्तार निर्वाचन आचारसंहिता विपरीत भएको भनि दिएको प्रतिक्रिया सम्बन्धमा प्रधानमन्त्री देउवाले विस्तार गरिसकेकाले अब निर्णय फिर्ता नहुने उल्लेख गर्नुभयो । बिपरित भनेपनि आयोगले निर्णय फिर्ता गर्न नभनेको उनको भनाई छ ।चुनावी कार्यक्रममा सहभागी हुन २ नम्बर प्रदेश जाने क्रममा विराटनगर पुगेका प्रधानमन्त्री देउवाले विमानस्थलमा सञ्चारकर्मीसंग आवश्यकता परे अझै मन्त्री थप्नुपर्ने बताएका छन् । देउवाले भने 'अझै धेरैलाई मन्त्री पुगेको छैन, आवश्यकता परे विस्तार गर्नुपर्ने अवस्था छ ।’ अर्को प्रसंगमा आयल निगममा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नेबारे छानबिन भइरहेको भन्दै प्रधानमन्त्रीले प्रतिवेदनका आधारमा सरकारले थप प्रक्रिया अघि बढाउने बताए । संविधान संशोधनको प्रस्ताव संसदमा फेल भए पनि अब चुनावपछि फेरि प्रस्तुत गरिने बताए । 

बगैचा सम्बाददाता

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.