Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > News

नेपाल आयल निगमले तेब्बर मूल्य तिरेर अनियमितता

Thursday, 09.07.2017, 12:53pm (GMT+6.5)    | Comment | Print | Tell friend

२२ भदौ २०७४

काठमाडौं

‘नेपाल आयल निगमको जग्गा खरिद घोटाला’ अध्ययन गरेको संसदीय समितिलेकरिब डेढ महिनापछि चल्तीको भन्दा तेब्बर मूल्य तिरेर जग्गा किनेको ठहर गरेको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सांसद स्थलगत अध्ययनपछि जग्गा खरिदमा अनियमितता भएको निष्कर्षमा पुगेका हुन् । निगमले भैरहवा, चितवन, झापा, सर्लाहीमा जग्गा किनेको दररेट फरकफरक भए पनि औषतमा तीन गुणा बढी तिरेको समितिको निष्कर्ष छ । समितिअन्तर्गत सांसद सुभाषचन्द्र ठकुरीको संयोजकत्वमा गठित उपसमितिले निगमले जग्गा किन्दा अनियमितता भएको निष्कर्षसहितको प्रतिवेदन तयार गरेको छ । निगमका अधिकारी र आपूर्तिमन्त्रीसँग छलफल गरेर स्थलगत अनुगमनमा गएको संसदीय टोलीले झापा, सर्लाही, चितवन र भैरहवामा जग्गा बिक्रेता, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवालासँग छलफल गरेको थियो । इन्धन भण्डारण स्थल बनाउन भन्दै निगमले जग्गा किनेको थियो । कार्यकारी निर्देशक गोपालबहादुर खड्काको नेतृत्वमा जग्गा किनिएको हो । बिचौलियासँग मिलेर निगमलाई चर्को व्ययभार पर्नेगरी अर्ब रुपैयाँभन्दा बढी अनियमितता गरेको आरोप खड्कामाथि लाग्दै आएको छ । सञ्चालक समितिले जग्गा खरिद गर्न सम्पूर्ण अधिकार कार्यकारी निर्देशक खड्कालाई प्रत्यायोजन गरेकाले यसको सम्पूर्ण जिम्मेवारी उनले लिनुपर्ने सांसदले बताएका छन् । यसअघि संसद्को सार्वजनिक लेखा समितिले पनि अनियमितता भएको ठहर गर्दै कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आपूर्ति मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।

निगमले झापामा प्रतिकट्ठा १३ लाख ३१ हजार रुपैयाँका दरले २३ बिघा ३ कट्ठा ६१ करोड ६२ लाख रुपैयाँमा, चितवनमा प्रतिकट्ठा १५ लाख ८५ हजार रुपैयाँ दरले २३ बिघा १२ कट्ठा ७४ करोड ८१ लाख रुपैयाँ, भैरहवाको ओमसतिया गाउँपालिकाको रोहिणी नदीकिनारमा १४ बिघा सात कट्ठा ३१ करोड ४० लाख रुपैयाँ र सर्लाहीमा ९ लाख ६१ हजार रुपैयाँका दरले १५ बिघा १२ कट्ठा  २९ करोड ९८ लाख रुपैयाँमा किनेको छ । सोमध्ये केही रकम भुक्तानी गर्न बाँकी रहेको निगमका अधिकारीले बताउँदै आएका छन् । निगमले किनेको भैरहवाको जग्गा रोहिणी नदीले डुबानमा परेको, चितवनको जग्गा लोथर खोलाको छेउ भएकाले जोखिममा रहेको, झापाको जग्गा रेलवे ट्रर्याकमा परेको अध्ययन समितिले जनाएको छ । सबै ठाउँमा निगमका उच्च अधिकारीले बिचौलियासँग सेटिङ मिलाएर जग्गा किनेको समितिको बुझाइ छ । अनुगमनका लागि झापा र सर्लाही पुगेका सांसद रामवीर मानन्धर र दीपक कार्कीले झापामा ४० करोड र सर्लाहीमा २० करोड अनियमितता भएको यसअघिनै सार्वजनिक गरेका छन् । निगमले किनेको जग्गाको भूवनोट भण्डारणस्थल बनाउन मिल्ने नमिल्ने, निगमले तिरेको मूल्य, कानुनी प्रक्रिया, जग्गा खरिदमा संलग्नको विषयमा अध्ययन केन्द्रित रहेको संयोजक ठकुरीले बताए । प्रतिवेदनको मुख्य विषय तयार भए मूल समितिको बैठकमा सबै सांसदको धारणा सुनेर अन्तिम रुप दिने ठकुरीले बताए ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top