स्व. आलोकको "अझैं पनि" हङकङमा प्रदर्शन

Tuesday, 10.13.2015, 09:28pm (GMT6.5)

टोपबहादुर याक्खा
     ११ अक्टोबर, हङकङ–  स्व. आलोक नेम्वाङद्धारा निर्देशित अन्तिम नेपाली कथानक चलचित्र “अझै पनि”  याउ मा तेई कम्यूनिटी हलमा प्रदर्शन भयो ।
     सुदर्शन थापा प्रोडक्सन र पुनम इन्टरटेनमेन्टको प्रेजेन्टेशनमा निर्मित उक्त चलचित्रमा सुदर्शन थापा, पूजा शर्मा, विजय लामा, मिथिला शर्मा लगायतका कलाकारहरुको सशक्त अभिनय मार्फत विशेष गरी युवापुस्ताहरुलाई लक्षित गर्दै विदेश नगई नेपालमै पनि केहि गर्न सकिन्छ भन्ने चेतनामूलक सन्देशसंगै प्रेमका साथै पारिवारीक कथामा आधारित उक्त चलचित्र हङकङ एकिकृत नेपाली समाज लिमिटेड (हिन्स) को पहिलो सौगात स्वरुप यूनाईटेड नेप्लिज एसोसिएशन प्रस्तुतीमा प्रदर्शन गरिएको थियो । 

      स्व. आलोक नेम्वाङको सम्झनामा श्रृद्धाञ्जली स्वरुप १ मिनेट मौन धारण गरेसंगै कृष्णराज लावतीद्धारा संचालन गरिएको छोटो औपचारिक कार्यक्रममा “अझै पनि” चलचित्रकी निर्मात्री पुनम गौतमलाई हिन्सका अध्यक्ष विनय शाह, यूनाईटेड नेप्लिज एसोसिएशनका अध्यक्ष सुवास राई, नेवार समाज हङकङका अध्यक्ष सत्रुधन उदास लगायतका व्यक्तित्वहरुले फूलगुच्छाले श्वागत गर्दै सम्मान तथा कदर पत्र प्रदान गरेका थिए ।
      कार्यक्रममा चलचित्रका बारेमा जानकारी गराउँदै निर्मात्री पुनमले चलचित्र निर्माणका क्रममा “यदि चलचित्र चल्ने बेलासम्ममा म नभए पनि संसारको जुसुकै क्षेत्रमा रहेका मेरा दर्शक शुभचिन्तकहरु माझ यो चलचित्र लगेर प्रदर्शन गर्नु” भन्ने निर्देशक आलोकको भनाई रहेको उल्लेख गर्दै आलोकको सपनालाई साकार पार्न पनि आफू हङकङसम्म आइपुगेको बताएकी थिएन । त्यस्तै गरी हिन्सका अध्यक्ष विनय शाहले चलचित्र प्रदर्शन गर्नुको उदेश्य प्रष्ट पार्दै सम्पूर्ण खर्च कटाएर बाकी रहेको रकम हङकङकै नेपाली युवाहरुको निमित्त खर्च गरिने र आगामी दिनहरुमा समेत हिन्सद्धारा प्रत्येक महिना १ वटा नेपाली चलचित्र प्रदर्शन गर्ने योजना रहेको बताए ।



© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.