बाढी पहिरो पीडितहरुको सहयोगार्थ हङकङमा ''हाम्रो ताप्लेजुङ''को प्रिमियर शो

Tuesday, 06.23.2015, 03:12pm (GMT6.5)

टोपबहादुर याक्खा
        २१ जुन, हङकङ– सुदुरपूर्वी पहाडी जिल्ला ताप्लेजुङमा केहि पहिले गएको भिषण बाढी पहिरो पीडितहरुको सहयोगार्थ ताप्लेजुङ समाज हङकङद्धारा ताप्लेजुङको परिचय र पहिचान बोकेको डकुमेण्ट्री “हाम्रो ताप्लेजुङ” को प्रिमियर शो याउ मा तेई कम्युनिटी हलमा सम्पन्न गर्यो ।
       ताप्लेजुङ समाजका अध्यक्ष लक्ष्मि कुमार श्रेष्ठ, प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा, डकुमेण्ट्री निर्देशक पदम सुब्बा लगायत समाजका सल्लाहकार तथा अन्य अतिथिहरुद्धारा बेलुन फुटाएर उद्धघाटन गरिए संगै प्रदर्शन गरिएको उक्त डकुमेण्ट्रीमा जिल्लाको एक मात्रै फुङलिङ नगरपालिकाका साथै अन्य ४८ गा.वि.स. हरुको परिचय, पर्यटकीय सम्भावना बोकेका स्थानिय महत्वपूर्ण स्थान र व्यक्तिहरुको परिचय संगै विकाशका महत्वपूर्ण अंगहरु शिक्षा, स्वास्थ्य, बिजुलीबत्ती, बाटोघाटोको सेवा सुविधा, सुरक्षाकर्मी लगायत सरकारको उपस्थितिलाई स्थलगत रिपोर्टमा उतारिएको छ ।
       पदम सुब्बाको निर्देशन र जित बहादुर विश्वकर्माको स्क्रिप्ट लेखन रहेको २ घण्टा ४० मिनेटको उक्त डकुमेन्ट्रीका परिकल्पनाकार ताप्लेजुङ समाज हङकङका सल्लाहकार ईन्द्र वनेम हुन । विश्वकै तेस्रो उच्च हिमाल कञ्चनजञ्घा देखि प्रख्यात पाथिभराको मन्दिर अनि तिनजुरे, मिल्के जलजले क्षेत्रको २८ बढि जातको लालीगुरास फुल्ने क्षेत्र देखि विविध झरना र खोला नालाहरुको मनोरम दृष्यहरु समेत समेटिएको उक्त डकुमेण्ट्रीलाई ताप्लेजुङ समाज हङकङले निर्माण गरेको हो ।
       समाजका सचिव सन्जय तुम्बाहामफेले संचालन गरेको छोटो औपचारिक कार्यक्रममा प्रमुख अतिथि प्रदिप थापाले शुभकामना मन्तव्य राखेका थिए भने निर्देशक पदम सुब्बा तथा उक्त डकुमेन्ट्रीका परिकल्पनाकार ईन्द्र वनेमले डकुमेन्ट्रीबारे छोटो धारणा राखेका थिए । यसै क्रममा परिकल्पनाकार ईन्द्र वनेमले डकुमेन्ट्री करिब ४ वर्ष लगाएर जिल्लाको कुना कुनामा पुगेर लिएको करिब ३ सय घण्टा लामो भिडियो एडिट गरी अढाई घण्टामा ढालेर तपाईहरु माझ पस्केका छौं, ताप्लेजुङ बारे जान्न, बुझ्न चाहने व्यक्ति तथा सोधकर्ता एवं विद्यार्थीहरुका लागि यो डकुमेन्ट्र निक्कै नै उपयोगी हुनेमा आफूहरु आश्वस्त रहेको बताउदै भएका गल्ति कम्जोरीहरु पनि औलाइदिन आग्रह गरे । सोहि क्रममा ताप्लेजुङ समाजले केहि महिना पहिले अग्नि पिडीत, त्यस पछि भूकम्प पीडित र फेरि बाढी पहिरो पीडितहरुका लागि सहयोग रकम उठाइरहेको प्रशंग कोट्याउँदै अबको केहि दिनमै समाजका १ जना प्रतिनिधी एकमुष्ठ रकम सहित सम्बन्धित ठाउँमै गएर पीडितहरुलाई राहत वितरण गरिने योजना रहेको समेत खुलाए ।
        डकुमेन्ट्रीका  निर्देशक पदम सुब्बा तथा स्क्रिप्ट लेखक जितबहादुर विश्वकर्मालाई कार्यक्रमका सभाध्यक्ष लक्ष्मि कुमार श्रेष्ठ तथा प्रमुख अतिथि प्रदिप थापाद्धारा खदा ओढाएर सम्मान गर्दै मायाको चिनो समेत प्रदान गरिएको थियो भने धरान पोखरा चेली समुहको तर्फबाट तुला लिम्बुद्धारा ताप्लेजुङ बाढी पहिरो पीडितहरुको सहयोगार्थ रु.५० हजार रकम समाजका अध्यक्ष लक्ष्मि श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।




© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.