काठमाडौं नेसनल मेडिकलको सम्बन्धन खारेज

Thursday, 09.07.2017, 12:38pm (GMT6.5)

२२ भदौ २०७४

काठमाडौं

काठमाडौंको घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन खारेज हुने भएको छ । कलेजलाई सम्बन्धन दिने विवादित निर्णय ४२ दिनपछि त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले फिर्ता लिएको छ । परिषद्को बुधबारको बैठकले पुरानो निर्णय सच्याउँदै कलेजको शिक्षण अस्पतालले सञ्चालन अनुमति नै नलिएको पाइएको भन्दै सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो ।सम्बन्धन फिर्ता नगरे बुधबारदेखि अनशन बस्ने डा. गोविन्द केसीको घोषणा र निर्णय नसच्याए तत्काल पदाधिकारी नै बर्खास्त गर्ने प्रधानमन्त्रीको चेतावनीपछि त्रिवि पदाधिकारी सम्बन्धनको निर्णय फिर्ता लिन बाध्य भएका हुन् । सम्बन्धन फिर्ता गरेसँगै डा.केसीले अनशनको कार्यक्रम स्थगित गरेका छन् । कार्यकारी परिषद् बैठकको प्रस्ताव १४७४ मा अस्पतालले अनुमति नै नलिएको भन्ने स्वास्थ्य मन्त्रालयको निर्णय र त्रिविद्वारा गठित छानबिन समितिको प्रतिवेदनसमेतका आधारमा सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो । त्रिविले गठन गरेको खोजबिन समितिले कलेजले सञ्चालन अनुमति नलिएकाले सञ्चालन हुनसक्ने अवस्था नरहेको प्रतिवेदन बुधबार दिउँसो त्रिविसमक्ष बुझाएको थियो । प्रतिवेदन बुझाएको केही समयपछि उपकुलपति तीर्थ खनियाँले कार्यकारी परिषद् बोलाएर सम्बन्धन खारेज गर्ने निर्णय गराएका थिए । कार्यकारी परिषद्ले भदौ १७ गते सम्बन्धन स्थगित गरी खोजबिन गर्न नेपाल ल क्याम्पसका सहप्राध्यापक सनद देवकोटा संयोजक तथा डा. प्रसन्न भट्ट र त्रिवि सेवा आयोग प्रमुख परशुराम कोइराला सदस्य रहेको समिति बनाएको थियो । समितिले स्वास्थ्य मन्त्रालय र वातावरण मन्त्रालयका अधिकारीसँग छलफल एवं परामर्शका साथै कलेज भ्रमण गरेर प्रतिवेदन तयार पारेको थियो । कार्यकारी परिषद्ले सो निर्णयको जानकारी प्रधानमन्त्री कार्यलय, शिक्षा मन्त्रालय, सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालय र काठमाडौं नेसनल कलेज प्रालिलार्इ पनि गराउने निर्णय गरेको छ ।

बगैचा सम्बाददाता

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.